१८ चैत,काठमाण्डौ ।
महंगीले ढाड सेकिएर दुई छाक खानका लागि समेत संघर्ष गरिरहेका छन् पाकिस्तानका आम सर्वसाधारण । यसै कठिन समयमा मुश्लिम धर्मावलम्विहरुको पवित्र महिना रमजान पुनः आएको छ । रमजानको अवसर पारेर विभिन्न संस्था वा व्यक्तिगतरुपमा निशुल्क खाद्यान्न वितरणसमेत चलिरहेको छ ।
तर सित्तैमा पाएको खान खान जाँदासमेत केही पाकिस्तानीले आफ्नो ज्यान गुमाएका छन् । पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा खाना वितरण भइरहेको थियो । सोहीक्रममा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौ जना महिला र तीन जना बालबालिका रहेका बीबीसी हिन्दीले जनाएको छ ।
रमजानको अवसरमा निःशुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन् ।
पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ अत्यधिक बढेको छ । उपभोग्य वस्तुको भाउ बढेपछि विभिन्न ठाउँमा हुने निःशुल्क खाद्यन्न वितरण कार्यक्रममा ठूलो भिड लाग्न थालेको छ । यसअघि अघिल्लो हप्ता पनि भिडमा किचिएर चार जना वृद्धवृद्धाको ज्यान गएको थियो ।