२३ चैत,एजेन्सी ।
तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पु¥याइएका नेपाली सुरक्षा गार्डलाई देश निकाला गर्ने निर्णयबाट बेलायत सरकार पछि हटेको छ । अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि सन् २०२१ को अगस्टमा उद्धार गरेर बेलायत लगिएको थियो ।
बेलायतमा लगेर उनीहरुलाई एउटा होटलमा राखिएको र त्यही होटलमा आफूहरूले काम गर्दै आएको ती नेपालीहरुले बताएका छन् । उनीहरूले बेलायतमा स्थायी रूपमा बसोबास गर्नका लागि आवेदन दिएको भए पनि बेलायतले उनीहरूलाई देश निकाला गरेर स्वदेश पठाउने बताएको थियो र त्यसका लागि आवश्यक कागजपत्र समेत तयार भइसकेको बिबिसीले उल्लेख गरेको छ ।
होटलमा बसेर काम गर्दै आएका केहीलाई छापा मारेर पक्राउ समेत गरिएको थियो । तर बेलायतको गृह मन्त्रालयले उनीहरूलाई बेलायतबाट स्वदेश पठाउने तयारी अहिलेलाई रोकिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
‘यस विषयमा थप छलफल र समीक्षा नहुँदासम्मका लागि अहिलेलाई उनीहरूलाई देश निकाला गर्ने निर्णय रोकिएको छ’ बेलायती गृह मन्त्रालयका प्रवक्ताको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । पक्राउ परेकाहरूलाई स्वदेश फिर्ती केन्द्रमा राखिएको छ ।
यो समूहमा रहेका केही व्यक्तिका अधिवक्ता जेमी बेलले आफ्ना सेवाग्राहीहरूलाई फिर्ता पठाउने निर्णय अचानक उल्टिएपछि आफू “हर्षित“ भएको बताएका छन् । “यद्यपि यसबाट किन यस्तो भयो भन्ने प्रश्न उठेको उनले बताएका छन् ।
बेलका अनुसार यो घटनाबाट अफगानिस्तानको सत्तामा तालिबान आएपछि दिइएको अवसरबारे थप प्रश्नहरू उब्जिएका छन् । “यस्ता योजनाहरूको मस्यौदा राम्रोसँग बनाइएको छैन, कार्यान्वयन कमजोर छ र उनीहरूले सहयोग गर्नुपर्ने आवश्यकता भएका मानिसहरूलाई सहयोग गरिरहेका छैनन्,” बेलले बताएका छन् ।