२५ चैत,काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संघ सरकार र राजनीतिक दलका नेताहरूप्रति फेरि आक्रोष पोखेका छन् । उनले आज विहानै सामाजिक संजालमार्फत आफ्नो आक्रोश पोखेका हुन् । बालेनले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् । मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ’आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
बालेनले राजनीतिक दलहरूबाट आफूले सहयोग नपाउने गरेको बताउँदै आएका छन् । केही समयअघि उनले आफूलाई राजीनामा गर्न बाध्य पारिरहेको सामाजिक सञ्जालमार्फत् बताएका थिए । यसैबीच एमाले महासचिवले मेयर शाहको अभिव्यक्ति नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको संकेत गर्ने बताएका छन् ।
जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । उनले ट्विटरमा मेयर शाहको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ’मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’
यता बालेनले भने आक्रोशित हुँदै एकपछि अर्को स्टाटस पोष्ट गरेका छन् । उनले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् । त्यसैले उनले आफु भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् । उनले नेपाल कहिले स्वाधिन हुने भन्दै प्रश्न समेत गरेका छन् ।
आफनो अस्तित्व कहिले बनाउने भन्दै लाज लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ चीन र भारतले बनाएको सरकारको इज्तत गर्दिन म नेपाल स्वाधिन कहिले हुने? आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।