२५ चैत, काठमाडौँ ।
काठमाडौँको ह्याम्स हस्पिटलमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर अर्थात पुच्छरको पंखामा क्षति पुगेको छ । एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर जाने तयारीमा थियो ।
तर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा टेल रोटरमा क्षति पुगेपछि उक्त हेलिकोप्टर तत्कालका लागि मर्मत गर्नुपर्ने भएको बताइएको छ । अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ । हेलिकप्टरको पुच्छरको पार्ट नजिकैको अर्को घरमा झरेको थियो ।
भरतपुरका बिरामीलाई लिनका लागि अर्को कम्पनीको हेलिकोप्टर पठाइएको ती प्रबन्धकले बताए । शनिबार दिउँसो २ बजेको यस घटनामा मानवीय क्षति भने भएको छैन । उक्त हेलिकोप्टर हाल अस्पतालको हेलिप्याडमै राखिएको छ ।
अहिले खसेको हेलिकप्टरको पुच्छरको भाग जोड्ने काम भइरहेको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको र यो घटनाबाट कसैलाई पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।