२५ चैत, काठमाडौँ ।
ललितपुरको बखुण्डोलमा जमिन भासिँदा केही घरहरूमा क्षति पुगेको छ । आधा दर्जन घरहरु जोखिममा परेका छन् । बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्टका कारण वरपरका जमिन भासिन थालेको स्थानीयले आरोप लगाएका छन् । शुक्रबार राति समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिएको थियो ।
दुई वटा घर भासिएको छ भने दुई वटा पूर्ण रुपमा भत्किएको छ । स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने ६ वटाभन्दा बढी घर जोखिममा छन् । राति २ बजे तीव्र रुपमा जमिन भासिन थालेपछि त्यहाँ भागदौड मच्चिएको थियो । केही व्यक्ति घाइते पनि भएको स्थानीयले जनाएका छन् ।
निर्माणाधिन अपार्टमेन्ट वरिपरिका घरहरु एकतला जति भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले दुईवटा घर पूर्ण रूपमा भत्किएको जानकारी दिएका छन् ।
उनका अनुसार छवटा भन्दा बढी घर जोखिममा परेका छन् । दुर्घटनालगत्तै नेपाल प्रहरी र एपिएफको टोली बखुण्डोल क्षेत्रमा पुगेको थियो । मानवीय क्षति भने भएको छैन । यसैबीच रास्वपाकी नेतृ एवं प्रतिनिधिसभाकी सांसद डा.तोसिमा कार्की त्यसक्षेत्रमा भासिएको घरहरुको अनुगमनमा पुगेकी छन् । उनले भासिएको र भत्किएको घरहरुको अनुगमन गर्दै पीडितहरुलाई सुरक्षित स्थानमा सार्ने बताइन् ।
दोषीलाई कारबाही गरिने बताउँदै उनले अपार्टमेन्ट बनाउने काम बन्द गराउने समेत बताइन् । उनले पीडितहरुलाई भेटेर सम्बन्धित ठाउँमा उजुरी गर्न आग्रह गरिन् । पीडितहरुले अपार्टमेन्ट बनाउनुअघि नै वडामा गुनासो राखेको भएपनि वडाले नसुनेको दुखेसो पोखे ।
अपार्टमेन्ट बनाउन नक्सा पास पनि नगरेको पीडितहरुको दाबी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न समेत उनीहरुले माग गरेका छन् । यता पाइलिङ गरेर वरिपरिलाई जोगाउन खोजेको निर्माण कम्पनीले दाबी गरेको छ ।