२६ चैत, एजेन्सी ।
इरान, महिला तथा किशोरीहरुका लागि आततायी मुलुक बन्दै गएको छ । महसा अमिनी प्रकरणपछि इरानी सरकारविरुद्ध नागरिकहरुको रोष उच्च विन्दुमा पुगेको छ । प्रदर्शनकारीहरुले सडकमा आगो बलिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा विभिन्न प्रतिबन्ध र ज्यानको बाजी राखेर महिलाहरु नै अगाडि आएका छन् ।
तर इरानी सरकार झन झन कठोररुपमा प्रस्तुत हुँदै गएको छ । अर्कातिर केही समूहले विद्यालयमा पढ्ने किशोरीहरुलाई विष खुवाएर ज्यान लिने चेष्टा गरिरहेका छन् । इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढेको छ । नोभेम्बरको अन्त्यदेखि छात्राको मात्र पढाइ हुने विद्यालयहरूमा ग्यास वा विषाक्त पदार्थको सेवनका घटना हुँदै आएका छन् ।
पछिल्लो विवरण अनुसार देशका ३१ प्रान्तमध्ये २५ वटामा रहेका २ सय ३० वटाभन्दा बढी विद्यालयमा पाँच हजार जनाभन्दा धेरै विद्यार्थीहरू विषाक्तताबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् । खुजेस्तानको हाफ्टकेल सहरको एक विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
त्यस्तै, पश्चिम अजरबैजान प्रान्तको उर्मियामा पनि धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको छ । यी घटनाको छानबिनका लागि राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले अन्तिम प्रतिवेदन दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।
यता इरान सरकारले विरोधका बावजुत महिलाहरुलाई हिजाब अनिवार्य गरेको छ । हिजाब नलगाउनेलाई दण्डित गरिरहेको छ । पछिल्लो समय महिलाहरुले हिजाब लगाए, नलगाएको जाच्न विभिन्न स्थानमा सिसिक्यामेरा समेत राख्न थालेको छ । हिजाब नलगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।
इरान प्रहरीले कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मोबाइलफार्फत सन्देश पठाइ चेतावनी दिइने बताएको छ । प्रहरीले यो कार्यले ’हिजाब कानून विरुद्धको विरोध’ लाई रोक्न मद्दत गर्ने जनाएको छ । गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो ।