२६ चैत ,काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम फैसलाका लागि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेशी तोकेको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । सन्दीपको मुद्दाको पेसी न्यायाधीश शंकरराज बरालको एकल इजलासमा तोकिएको छ । आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ ।
यसअघि लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो । त्यसपछि पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समय सीमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन ।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन ।
सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेशी स्थगित हुँदै आएको छ । यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ ।