२६ चैत, काठमाण्डौ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए)को इस्टर्न थियटर कमाण्डले ताइवान टापुलाई घेरा हालेको छ । टापुलाई घेर्ने गरी पीएलएले आफ्नो हवाई तथा नौसैनिक बललाई परिचालन गरेको छ । कमाण्डले ताइवानलाई चारै दिशाबाट घेर्ने गरी आफ्नो प्रतिरोध घेरा स्थापना गर्न सुरक्षा बल पठाएको कमाण्डले जनाएको छ ।
’ज्वाइन्ट स्वोर्ड’ नाम दिइएको सैन्य अभ्यासको पहिलो दिन कमाण्डले विध्वंसक, फ्रिगेट, क्षेप्यास्त्र डुङ्गा, लडाकु विमान, बमवर्षक, इलेक्ट्रोनिक वारफेयर प्लेन, रिफ्युलिङ एयरक्राफ्टका साथै मल्टिपल लन्च रकेट प्रणाली र परम्परागत ब्यालिस्टिक क्षेप्यास्त्र युनिटलाई युद्ध तैनाथीका लागि तोकिएका क्षेत्रमा स्थानान्तरण गरेको छ ।
शनिबारको पीएलएको इस्टर्न थियटर कमाण्डले समुद्रमा, हवाई क्षेत्र तथा सूचना प्रणालीमा प्रभुत्व जमाउने सेनाको क्षमताको परीक्षण गरेको कमाण्डले जनाएको छ । उसले यसमा संलग्न एकाइहरू ’निरोध र दमनको स्थिति सिर्जना गर्न’ टापुतर्फ जानका लागि संगठित गरिएको जनाएको छ ।
कमान्डले अपलोड गरेको भिडियो क्लिपमा पीएलएका केही नवीनतम उपकरणहरुलाई सार्वजनिक गरिएको छ । वाईवाई–२० रिफ्युलिङ ट्यांकर र पीसीएच–१९१ मल्टिपल–लन्च रकेट भेहिकल अभ्यासमा प्रयोग गरिएको भिडियोमा देखाइएको छ । यसबाहेक, ब्यालेस्टिक वा क्रुज मिसाइलको नयाँ मोडेलको लागि प्रक्षेपण वाहन जस्तो देखिने एक नयाँ प्रकारको जमीनी हतियार पनि भिडियोमा देखाइएको छ ।
कमाण्डका प्रवक्ता सिनियर कर्नेल सि यीले शनिबार ताइवान जलडमरूमध्यको जल र हावामा र टापुको उत्तर, पूर्व र दक्षिणमा ’ज्वाइन्ट स्वोर्ड’ अभ्यास हुने बताएका थिए । ’ताइवानको स्वतन्त्रता’ पृथकतावादी र बाह्य शक्तिको साँठगाँठ र उक्साहटका लागि यो अभियान गम्भीर चेतावनी भएको र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आवश्यक कदम भएको उनले बताएका छन् ।
पछिल्लो समय ताइवानी राष्ट्रपति त्साइ इन–वेन मध्य अमेरिकी राष्ट्रको १० दिने लामो भ्रमणका क्रममा जाँदा र फर्किँदा ६ दिन अमेरिकामा रोकिएकी थिइन् । शनिवार मात्र उनी ताइपेइ फर्किएकी छन् । सो क्रममा उनले अमेरिकी सभामुखसँग भेटगरेपछि चीन क्रुद्ध बनेको छ ।
फेरि यतिबेला ताइपेइमा अमेरिकी संसदीय टोली भ्रमणमा छन् । शनिवार मात्र अमेरिकी संसदको परराष्ट्र मामिला समितिका अध्यक्षसमेत रहेका सांसद मिचेल म्याककलले अमेरिकी संसदमा आफूले समितिको अध्यक्षको हैसियतले सैन्य सामाग्री बिक्रिसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको र यो निर्णयमा ताइवानलाई हतियार बिक्री गर्ने कुरा रहेको बताएका थिए ।