३० चैत , काठमाण्डौ ।
संघीय सरकारलाई चेतावनी दिदैं चार दिनदेखि सिंहदरबार, बालुवाटार, राष्ट्रपति कार्यालयसमेतको फोहोर उठ्न नदिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेरि अर्को प्रहार गरेका छन् । सामाजिक संजालमा एकपछि अर्को चर्को आलोचना गर्दै आएका शाहले विहीबार सिंहदरबारलाई नै काठमाडौंबाट अन्त सार्न भन्दै चुनौती दिएका छन् ।
उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न भनेका हुन् । उनले लेखेका छन्, ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’ महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग पैंठेजोरी खेलिरहेका छन् ।
यसअघि उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोल डम्प गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यसको चर्को आलोचना पनि भएको थियो । त्यसपछि महानगरले फोहोर उठाउने विभिन्न १४ कारणहरु उनले सामाजिक संजालमा नै प्रष्ट पारेका थिए ।
सरकारले पनि मन्त्रीपरिषदबाटै निश्कर्ष निकालेर बालेनले पदीय मर्यादाबाहिर गएर ब्यवाहार गरेको आरोप लगाएको थियो । संचारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले त बालेनको अभिब्यक्तिलाई अराजक भनी टिप्पणी गरेकी छन् । मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बालेनको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको थियो । बु
धबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए । यस्तोमा बिहीबार उनले आफूहरुसँग मिलेर काम नगर्ने भए राजधानी नै अन्त सार्न भनेका हुन् । बालेनले महानगरलाई सरोकारित मन्त्रालयहरुले सहयोग र समन्वय नगरेको आरोप लगाउँदै आएका छन् ।
खास गरी सुकुम्बासी समस्या समाधान गर्नका लागि बल प्रयोग गर्ने पक्षमा रहेका बालेनलाई संघीय सरकारले सहयोग गरिरहेको छैन् । काठमाडौंका भिआईपी आवास र कार्यालयको फोहोर नउठेको विषय संसदमा समेत उठिसकेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस विषयमा महानगरसँग प्रधानमन्त्रीपुष्पकमल दाहालले आफै वार्ता गर्नुपर्ने बताएका थिए । तर सरकार भने बालेनले उठाएको कदमलाई गलत सावित गर्दै उनलाई सचेत गराउने पक्षमा देखिएको छ ।