२०८०मा कुन–कुन दिन छन् सार्बजनिक बिदा ?

२०८०मा कुन–कुन दिन छन् सार्बजनिक बिदा ?

१ वैशाख , काठमाण्डौ ।
आज (शुक्रबार)देखि नयाँ वर्ष २०८० साल सुरु भएको छ। सरकारले हरेक वर्षझैं २०८० सालका लागि पनि सार्वजनिक बिदाहरु निर्धारण गरेको छ। सरकारले यस वर्ष पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा पनि बिदा दिने निर्णय गरेको छ। यस्तै, दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ।

अब फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिइनेछ। यसअघि एकादशीसम्म चार दिन मात्र दशैं बिदा दिइन्थ्यो। मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले गत चैत २ गते नै राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय सार्वजनिक गरेको थियो।

मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ।

यस्तै सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्रा र सिरुवा पावनी पर्वका लागि बिदा निर्धारण गरिएको छ। असोज १ गते तीज (सबै महिला) र असोज २० गते (जितिया पर्व मनाउने महिला) कर्मचारीका लागि मात्रै बिदा तोकिएको छ।

शिक्षण संस्थाका लागि फागुन २ गते वसन्तपञ्चमीका दिन र काठमाडौँ उपत्यकामा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन र चैत २६ गते घोडेजात्राका लागि बिदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ।

दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिन सबै कर्मचारीका लागि सार्वजनिक बिदा दिइएको छ। साथै अपाङ्गता भएका कर्मचारीका लागि मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बिदा तोकिएको छ।

यस्तै बुद्ध जयन्ती, पृथ्वी जयन्ती, फाल्गुनानन्द, मोमम्द, गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय भएको छ। मन्त्रालयले राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुला रहने बिदासमेत तोकेको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ ११ गते मनाइने छ।

भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते सहिद दिवस मनाइने राजपत्रमा उल्लेख छ। जारी सूचनामा विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका लागि सार्वजनिक बिदालाई दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.