२ वैशाख, एजेन्सी ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा पुगेको एउटा सार्वजनिक कार्यक्रममा उनी लक्षित बम आक्रमण भएको छ । तर उनलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो ।
‘स्मोक बम’ प्रहार गरिएको तर उनी सुरक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको हो । बम फ्याकेको आशङ्कामा घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।
जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो । किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्यालिएको थियो । अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।
त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए । उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो । देशको पश्चिमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो । अहिलेसम्म यसको पूर्ण विवरण आइसकेको छैन ।
स्थानीय सञ्चारमाध्यमले शनिवारका लागि पूर्वनिर्धारित आफ्ना कार्यक्रमहरूलाई किशिदाले निरन्तरता दिने जनाएका छन् । किशिदाको दल लिबरल डेमोक्र्याटिक पार्टीका नेता हिरोसी मोरियामाले चुनावी अभियानको बीचमा यस्तो हुनु खेदजनक भएको बताएका छन् ।
उनले भने, “यो माफी दिन नसकिने जघन्य अपराध हो।” जापानमा हिंसात्मक हमलाहरूलाई दुर्लभ मानिन्छ । अघिल्लो वर्ष चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेको हत्या गरिएपछि राजनीतिज्ञहरूको सुरक्षालाई लिएर त्यहाँ चिन्ताहरू देखिएको छ ।