२ वैशाख , काठमाण्डौ ।
नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटिदिएको छ । प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि शुक्रबारदेखि प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको हो । सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ ।
प्राधिकरणको नेपालगञ्ज शाखाले दाङस्थित सिमेन्ट उद्योगको बिजुली काटिदिएको हो । प्राधिकरणलाई तिुनपर्ने ७४ करोड ५९ लाख रुपैयाँ तिर्न अटेर गरेपछि लाइन काटिएको नेपालगञ्ज शाखा प्रमुख हरि पाण्डेले बताएका छन् । प्राधिकरणका अनुसार यो सिमेन्ट उद्योगले डेटिकेटेड लाइनतर्फको ३२ करोड ९४ लाख रुपैयाँ र त्यसपछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्ट प्रालिले तिर्न बाँकी थियो ।
तर पटक पटक ताकेता गर्दा पनि उक्त उद्योगले अटेरी गरेपछि विद्युत् काट्नु परेको पाण्डेले बताए । प्राधिकरणले २०७७ देखिको बक्यौताका तिर्न पटकपटक आग्रह गर्दा पनि उद्योगबाट कुनै सुनुवाइ नभएपछि लाइन काट्नुपरेको जनाएको छ
। उद्योगले बिचमा केही तिर्ने गरेपनि विगत ९ महिनादेखि भने कुनै बक्यौता तिर्न नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । ‘अन्य ग्राहकको हकमा २ हजार हुँदा काट्ने गरेका छौं । उहाँहरुले झन्डै ७५ करोड पुगेको देखिन्छ । यसमा पनि तिर्न नआएपछि काटेका हौं,’ उनले भने । विद्युत् आपूर्ति रोकिएसँगै उक्त कम्पनीको सिमेन्ट उत्पादन पनि रोकिएको छ ।