३ वैशाख, एजेन्सी ।
ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भाले चीन पुगेर अमेरिकाको आलोचना गरेका छन् । उनले अमेरिकाले विभिन्न वहानामा विभिन्न देशमा लगाएको प्रतिबन्ध र अमेरिकी डलरप्रति टिप्पणी गर्दै कटाक्ष गरेका छन् । लुलाले बिहीबार सांघाइमा सम्बोधनको क्रममा डलरको बर्चस्व अन्त्य गर्न आह्वान गरे ।
‘प्रत्येक रात म आफैँलाई सोध्छु, सबै मुलुकले आफ्नो व्यापार किन डलरकै आधारमा गर्नुपरेको होला,’ ‘हामी हाम्रै मुद्रामा व्यापार गर्न किन सक्दैनौँ?’ उनले त्यसो भनिरहँदा ब्राजिली र चिनियाँ अधिकारीहरु रहेको दर्शकदिर्घामा ताली गड्गडाहट सुनिएको थियो । उनको यो भनाइले वासिङ्टनका नीति निर्माताहरुको कान ठडिएको छ ।
अझ सीका साथमा सम्बोधन गर्दै उनले अमेरिकाले अनेक प्रतिबन्ध लगाएको हुवावे भ्रमण गरेको समेत बताए । ‘हिजो हामीले हुवावे भ्रमण गर्यौँ । हामी विश्वलाई भन्न चाहन्छौँ, चिनियाँहरुसँगको हाम्रो सम्बन्धमा कुनै पक्षपात छैन र कसैले पनि चीनसँग सम्बन्ध सुधार गर्नबाट ब्राजिललाई रोक्न सक्दैन,’ उनले भने ।
शुक्रबार सी र लुलाले संयुक्त वक्तव्य जारी गर्दै युक्रेन युद्ध अन्त्यको एउटै उपाय वार्ता भएको बताएका छन् । चीन भ्रमणअघि लुलाले युद्धमा सामेल नभएका मुलुकहरुको एउटा ‘शान्ति क्लब’ गठन गर्नुपर्ने बताएका थिए । शनिबार पनि लुलाले सोही कुरा बताए । ‘अर्को महत्वपूर्ण मुलुक अमेरिका हो ।
अमेरिकाले युद्धबाट फाइदा लिन छाड्नुपर्छ र शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्छ,’ लुलाले भनेका छन् । यस्तै लुलाले विश्वको भूराजनीति सन्तुलित पार्न आफूले चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । चीनको तीन दिने भ्रमण टुंग्याउँदै उनले यस्तो बताएका हुन् । ‘हामी हाम्रा दुई मुलुकबीचको रणनीतिक साझेदारीको स्तरोन्नति गर्न चाहन्छौँ।
व्यापार विस्तार गर्न चाहन्छौँ र चीनसँग मिलेर विश्वको भूराजनीति सन्तुलित पार्न चाहन्छौँ,’ जेलबाट निस्केर तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका लुलाले भनेका छन् । लुलाले ब्राजिललाई फेरि विश्वमञ्चमा फर्काउने कोसिस गरिरहेका छन् । यी ७७ वर्षीय नेता बहुध्रुवीय विश्वको पक्षपाती हुन् भने बहुपक्षीय संस्थाहरुको भूमिका ब्युँताउने उनको कोसिस जारी छ ।
लुलालाई बेइजिङमा भब्य स्वागत गरिएको थियो । राष्ट्रपति सी जिनपिङले उनलाई ‘असल र पुराना मित्र’ भनेर सम्बोधन गरेका छन् । दुई पक्षबीच १० अर्ब डलर बराबरका एक दर्जनभन्दा बढी सम्झौताहरुमा हस्ताक्षर भएको छ । जसमा पूर्वाधार, स्याटेलाइट निर्माणदेखि व्यापार सहजीकरणसम्मका विषय छन् । ब्राजिल र चीन दुवै ब्रिक्सका सदस्य हुन् । जसलाई सक्रिय पार्ने इच्छा लुलाले व्यक्त गरेका छन् ।