३ वैशाख , काठमाण्डौ ।
संक्रमणकालीन न्यायनिरुपणसम्बन्धी कानुनलाई अन्तिम रुप दिने तयारीका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित भएका छन् । प्रधानमन्त्रीसंगै सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा गएनन् । उनीहरु बैठकमा अनुपस्थित हुनाको कारण भने बैठकका लागि रोजिएको ठाउँ बुझिन्छ ।
सभामुख देवराज घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने गरी आइतवार बिहान ९ बजे बैठक बोलाएका थिए । तर अन्तिम समयमा आएर प्रचण्ड र देउवाले अनुपस्थित हुने जानकारी दिएका हुन् । तर दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएको थियो ।
यद्यपि प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका हुन् । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी कानुन, संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायत विषयमा सहमति जुटाउन संवाद गरिरहेका थिए ।
त्यही संवादलाई निरन्तरता दिनेगरी शीर्ष नेताबीच बैठक बालकोटमा बस्ने सहमति भएको थियो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रचण्डले कार्यव्यस्तता भन्दै बालकोटमा हुने बैठकमा सहभागी हुन नमानेको बताएका छन् । ’शीर्ष तहमै पहिले नै बालकोटमा बस्ने सहमति भएको थियो।
त्यहीअनुसार प्रधानमन्त्री र सभामुखको सल्लाहमा बैठक बोलाइएको थियो’, बर्तौलाले भने, ’तर प्रधानमन्त्रीले बैठकमा आउने अस्वीकार गरेपछि शंका गर्ने वातावरण बनेको छ।’ यो बैठकका लागि प्रतिपक्षी दलको नेता ओली, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुने तय भएको थियो ।
त्यहीअनुसार बैठकमा सहभागी हुन एमाले नेता बालकोटमा जम्मा भएका थिए । बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल बालकोट पुगेका थिए । तर साढे ९ तिर प्रधानमन्त्री प्रचण्डले आजको बैठक बस्न नसक्ने भन्दै खबर पठाएको सचेतक बर्तौलाले बताए ।
प्रचण्ड र देउवा दुवैजना अनुपस्थित हुँदा संसदमा विचाराधीन विधेयक र संयुक्त समिति निर्माणलगायत विषयमा छलफल रोकिएको छ । यसअघि सभामुख घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको थियो ।
उक्त बैठक स्थगित भएपछि शीर्ष नेताहरुबीच बालकोटमा आइतवार जुट्ने सहमति भएको थियो । तर आइतवार प्रचण्ड बालकोट जान तयार नभएपछि अब अर्को बैठक मंगलबार बस्ने तय भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । प्र
धानमन्त्री र देउवा बालकोट जान तयार नभएपछि संसदमा अघि बढाउनुपर्ने विषय र संक्रमणकालीन न्यायको सवालमा सत्ता पक्ष गम्भीर नभएको गुनासो एमालेले गरेको छ । टीआरसी संशोधन विधेयक नियमित प्रक्रियाबाट संसदीय समितिमा पुर्याएर अघि बढाउनु पर्ने एमालेको अडान रहेको छ भने सत्तारुढ दलहरु भने फास्ट ट्रयाकबाट विधेयक पास गर्ने तयारीमा छन् ।