४ वैशाख , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ को उपचुनावका उम्मेदवार रवि लामिछानेका गाडी चालक घरको छतबाट लडेर गम्भीर घाइते भएका छन् । लामिछाने स्वयं बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर चालक शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
३९ वर्षीय थापा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का हुन् । घटना बिहान चार बजेतिर भएको थियो र चालकको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी पण्डितले बताए ।
घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) नेतृत्वकै टोली खटिएको छ । भुँइतलासहित तीन तला रहेको सो घरमा माथिल्लो तलामा चालक सुतेका थिए । उनीसँगै रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशी पनि सुतेका थिए । हाल राजवंशी प्रहरी नियन्त्रणमा छन् ।
उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिएसपी पण्डितले बताएका छन् । ’उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ, तीनतले घरमा रहेको सीसीक्यामेरामा आधा भागबाट मात्रै कभर भएको छ,’ उनले भने, ’दिलबहादुर खस्दै गरेको देखिन्छ । भुइँमा रहेको गमलामा उनको टाउको बजारिएको देखिन्छ । अवस्था गम्भीर छ ।’