४ वैशाख , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सोमबार बिहान उनीहरू ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।
अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट गएको बताइएको छ । उनीहरूसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।
विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । सभामुखले आइतबार बिहान पनि बालकोटमा बैठक बोलाएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।
यसअघि गएको चैत २५ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा तीन नेताहरूबीच यही विषयमा छलफल भएको थियो । सरकारले प्रतिनिधि सभामा पेस गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सदनमै छलफल गरेर फास्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेको छ ।
तर एमालेले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयक अगाडि बढाउनुपर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको फागुन २५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गराएका थिए ।
विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ । विधेयकमा केही सांसदहरुले संशोधन दर्ता गरेका छन् । विधेयकमाथि परेका संशोधनमाथि सदनमै छलफल गर्ने कि विषयगत समितिमा लगेर दफावार छलफल चलाउने भन्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका बीचमा कुरा मिलेको छैन ।