४ वैशाख , एजेन्सी ।
सुडानमा सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स आरएसएफबीचको सङ्घर्ष थप चर्किएको छ । दुवै पक्षले आइतबार राजधानी खार्तुम सहरका मुख्य सडक बन्द गरेका थिए । दुई पक्षको लडाइँमा परेर अहिलेसम्म ५० जनाभन्दा धेरैको ज्यान गएको छ । एक हजारभन्दा धेरै जना घाइते भएका छन् ।
अर्धसैनिक बलले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण ठाउँ आफूले कब्जामा लिएको दाबी गरेको छ । खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको बीबीसीले जनाएको छ । सरकारी सेनाले अर्धसैनिक बललाई रोक्न हवाई आक्रमण गरिरहेको जनाएको छ ।
खार्तुमका नागरिकले आफूहरु कहीँकतै सुरक्षित नरहेको बताएका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । तर, यस्तो आह्वानले मात्रै आफूहरु सुरक्षित नहुने नागरिकले बताएका छन् । सुडानमा भइरहेको लडाइँमा संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यू.एफ.पी) का तीन जना कर्मचारीको समेत ज्यान गएको छ ।
आफ्ना कर्मचारीको ज्यान गएपछि डब्ल्यू.एफ.पी ले तत्कालका लागि सुडानमा आफ्ना सबै कार्यक्रम स्थगित गरेको बताएको बीबीसीले जनाएको छ । सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्युझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन् ।