४ वैशाख, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा अहिले सुधारिएको उनको भनाइ छ । सोमबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् ।
यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्,” उनले लेखेका छन्, “बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला ।” थापाको स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिन पनि उनले आग्रह गरेका छन् ।
उनले राजनीति गर्न सिंगो जीवन भएको भन्दै संवेदनशील घडीमा ‘मौका नछोप्न’ समेत अनुरोध गरेका छन् । “…सक्नुहुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला ।
स्वास्थ्यलाभको कामना गरिदिनुहोला,” उनले लेखेका छन्, “राजनीति गर्न सिंगो जीवन छ । यस्तो संवेदनशील घडीमा मौका नछोप्नुहोला ।” घटना भएको करिब १२ घण्टापछि सामाजिक सञ्जालमार्फत रविले उक्त घटनाबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरमा रवि लामिछाने बस्दै आएको घरको छतबाट खसेका थिए ।
त्यसपछि लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ढकालका सवारीचालक कालुराम राजवंशीसित सोधपुछ गरिएको छ । प्रहरीका अनुसार मुकुलका चालक राजवंशीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएर सोधपुछ गरिएको हो ।
गए राति दुवैजना एउटै कोठामा सुतेका थिए । अहिले कसैलाई पक्राउ नगरिएको र राजवंशीसित सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले बताएका छन् । “कसैलाई पक्राउ गरिएको भन्ने छैन । कालुराम राजवंशीलाई बोलाएर सोधपुछ गरेका हौँ, घटनाबारे अनुसन्धान जारी छ,” एसपी कार्कीले भने ।
प्रहरीले अरू व्यक्तिहरूको पनि बयान लिने तयारी गरेको छ । घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको अवस्था सुधारोन्मुख रहेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा उनको उपचार भइरहेको छ । उनको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।