५ वैशाख, काठमाण्डौ ।
तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ ।
गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ । अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिए । अस्पताल ल्याउँदा भन्दा स्वास्थ्यमा केही सुधार आए पनि अवस्था क्रिटिकल (गम्भीर) नै छ, स्वास्थ्य स्टेबल (स्थिर) नै छ’ केसीले भनेका छन् ।
थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले बताए । उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ । प्रहरीले स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले बताएका छन् ।
घटना अनुसन्धानका क्रममा प्रहरीले सोमबार रास्वपाकै महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका सवारीचालक कालुराम राजवंशीसित सोधपुछ गरेको थियो । प्रहरीका अनुसार आइतबार राति ३९ वर्षीय शम्भु भनिने थापा र राजवंशी एउटै कोठामा सुतेका थिए ।
लामिछानेका चालक थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताएका छन् । यस विषयमा रविले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् ।
यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्,” भन्दै उनले लेखेका छन्, “बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला ।” थापाको स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिन पनि उनले आग्रह गरेका छन् ।