५ वैशाख, काठमाण्डौ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा भने मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको संभावना रहेको विभागले जनाएको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।
साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ । त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ ।
जसले गर्दा केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको छ । ‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भने –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल हुन्छ ।
हावाहुरी चल्ने र पानी पर्ने सम्भावना रहन्छ ।’ पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने यो प्रणालीको प्रभाव देशका धेरै ठाउँमा पर्ने सम्भावना छ । पश्चिमका केही ठाउँमा पानी पनि पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् । केही दिनदेखि वर्षा नहुँदा आगलागी र डढेलोका घटना बढेका छन् । यसले गर्दा वायु प्रदूषण बढेको छ । प्रदूषणका कारण तुवाँलो लाग्दै आएको छ ।