५ वैशाख , एजेन्सी ।
अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनी न्यूयोर्क सहरमा बस्छन् । दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ ।
उनलाई सोमबार ब्रुकलिनको संघीय अदालतमा पेश गरिएको थियो । चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक–पटक भनिसकेको छ । सोमबार अमेरिकी न्याय विभागले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट ६१ वर्षीय लु जियानवाङ र ५९ वर्षीय चेन जिनपिङले म्यानहट्टनमा पहिलो विदेशी प्रहरी चौकी खोल्ने प्रयास गरेको बताएको थियो ।
यता रुसका विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ । रुसी–बेलायती पूर्वपत्रकार मुर्जाले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् । गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो ।
मलाई एक शब्द पनि पश्चाताप छैन । मलाई गर्व छ ।’ ४१ वर्षीय मुर्जाले पश्चिमी सरकारहरूलाई रुसी अधिकारीहरूमाथि मानवअधिकार उल्लंघन र भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए । मुर्जालाई एक वर्षअघि मस्कोमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरी अधिकारीको अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर हिरासतमा लिएपछि उनीमाथि गम्भीर आरोप लगाइयो ।
उनीविरुद्ध चलिरहेको मुद्दा मुख्यतया गत वर्ष अमेरिकामा दिएको भाषणमा आधारित छ । जहाँ उनले युक्रेनका आवासीय क्षेत्र, प्रसूति अस्पताल र विद्यालयमा बम विष्फोट गरेर रसियाले युद्ध अपराध गरिरहेको बताएका थिए । तर रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।