५ वैशाख , काठमाण्डौ ।
एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि कप्तान अहमद फैजले उत्कृष्ट ब्याटिङ गरे ।
९५ बलको सामना गरेका उनले ८ चौका र एक छक्कासहित ७६ रन बनाए । त्यस्तै, विरनदीप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद अमीरले १७,मोहम्मद स्याहदतले १५, सैयद अजिजले १३ र विजय उन्नीले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र पूर्वकप्तान सन्दीप लामिछाने ३÷३, ललित राजवंशीले २ तथा गुल्शन झाले एक सफलता हात पारे ।
प्रिमियर कपमा नेपाल र मलेसिया समूह ‘ए’ तथा सिंगापुर र हङकङ समूहमा ‘बी’ मा रहेका छन् । मलेसियाविरुद्ध नेपाल सहज जितको खोजीमा छ । मलेसिया भने घरेलु टोली नेपाललाई हराउँदै इतिहास रच्ने दाउमा छ । सन् २०१२ यता मलेसियासँग नेपालले पाँच वानडे म्याच खेलेको छ । जसमा नेपाल अपराजित छ ।
पछिल्लोपटक यी दुई टोलीले २०१८ मा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो । सन् २०१४ मा भएको आइसिसी क्रिकेट लिग डिभिजन–३ को दुई खेलमा मलेसियाविरुद्ध नेपाल ३६ रन र ५ विकेटले विजयी भयो । २०१२ मा एसिसी ट्रफी एलिटको सेमिफाइनलमा नेपालले मलेसियालाई २१ रनले हरायो ।
सोही वर्षको सेप्टेम्बरमा भएको क्रिकेट लिग डिभिजन–४ मा नेपालले मलेसियाविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । नेपाल यसपालि प्रिमियर कपमा पनि मलेसियाविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ ।
प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।