७ वैशाख , एजेन्सी ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गरेका छन् । सो उपग्रहलाई आगामी दिनमा परीक्षण गरिने उनले बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षणका निम्ति तयार छ ।
यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउन सक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भूउपग्रहमा त्यस्ता क्यामरा छन् वा छैनन् भन्ने प्रश्न गरेका छन् ।
विगतमा गरिएका प्रक्षेपणका तस्बिर शक्तिशाली क्यामराले नखिचिएकाले अझै पनि प्योङयाङसँग जासुसीका निम्ति उपयोग हुने अत्याधुनिक क्यामरा नभएको उनीहरूको बुझाइ छ । मङ्गलबार देशको अन्तरिक्ष केन्द्रको भ्रमण गरेर नेता उनले आणविक क्षेप्यास्त्रको प्रभावकारी प्रयोगका लागि सैन्य उपग्रह महत्वपूर्ण हुने बताउँदै सूचना सङ्कलन गर्ने भूउपग्रहबारे जानकारी लिएका थिए ।
वैज्ञानिकहरूले कुनै पनि बेला त्यसलाई प्रक्षेपण गर्न सकिने जानकारी दिएको बताइएको छ । उत्तर कोरियाले अमेरिका र जापानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ । अमेरिकी नाकाबन्दीबाट क्रुद्ध भएको उत्तरले हालै दक्षिणसँग मिलेर अमेरिकाले बृहत् सैन्य अभ्यास गरेपछि अझ रिसाएको छ । उसले ठोस ऊर्जाशक्तिबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई चिन्तित तुल्याएको छ ।