७ बैशाख, विराटनगर ।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । सोही क्रममा सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको थियो । हिजो भिटामिन ’ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाईएको छ ।
६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।
यसैबीच, उदयपुरको बेलका नगरपालिकामा पनि राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाइएको छ । नगरपालिकाको जम्मा ९ वटा वडामा ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाबाट जुकाको औषधि र भिटामिन ए वितरण गरिएको बेलका नगरपालिका स्वास्थ्य शाखा रामपुरका सिनियर अ.हे.व देवीन मगरले बताएका छन् ।
उक्त नगरपालिकामा दुई दिनमा भिटामिन ए कुल ४ हजार २० जनामध्ये ३८ सय ४२ जनालाई अर्थात कुल ९५ प्रतिशत बालबालिकालाई खुवाइएको उनले बताए । त्यसैगरी जुकाको औषधि ३ हजार ७१ जनामध्ये ३४ सय ४९ जनालाई अर्थात ९९ प्रतिशत बालबालिकालाई खुवाइएको अ.हे.व मगरले बताए ।
देशभर वैशाख ६ गते बिहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने जनाएको छ ।
नजिकैको स्वास्थ्य संस्थामा गई आ–आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन अनुरोध समेत गरेको छ । साथै छर छिमेकमा कसैले खोप लगाउन छुटेका भए समन्वय गरिदिन पनि अनुरोध गर्दै सूचना जारी गरेको छ ।