८वैशाख, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो। बुधबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ।
त्यसअघि मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बालेनले सिंहदरबार लगायत प्रशासनिक निकायहरुको फोहोर नउठाउन निर्देशन दिएपछि एकहप्ता भन्दा लामो समयदेखि ती क्षेत्रको फोहोर उठ्न सकेको छैन् । संघीय सरकारले आवस्यक समन्वय र सहयोग नगरेको भन्दै काठमाडौं महानगरपालिकाका शाहले सिंहदरबारसहितबाट फोहोर नउठाई दबाव बढाएका बेला दुई पालिकाले भने काठमाडौं महानगरलाई नै चेतावनी दिएका छन् ।
बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।
दुई पालिकाको प्रतिनिधिहरू बुधबार बैठक बसेर १५ दिन भित्र पुरा नभएमा संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना नगर्न सरोकारवालालाई अनुरोध गरेको छ ।