चुनावका वाचा पूरा गर्दै बालेन/अब शहरभरि सिसिटिभी

चुनावका वाचा पूरा गर्दै बालेन/अब शहरभरि सिसिटिभी

८ वैशाख, काठमाण्डौ ।
महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सक्र्युट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो ।

यसका लागि प्रमुख बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतापछि काठमाडौंका हरेक चोकमा सीसीटिभी जोडिने भएपछि मेयर शाहले आफूले चुनावमा गरेको वाचा पूरा गरेको बताएका छन् ।

मेयर शाहले सामाजिक संजालमा लेखेका छन्, चुनाब पहिले मैले भनेको थिए चोक चोकमा सीसीटिभी हाल्नेछु , यसको सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौ ।

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौ ।

यो सुरुवात मात्र हो हामी भबिस्यमा अझै धेरै सहकार्य गर्नेछौ । महानगरले उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ । सम्झौतापछि महानगरका प्रमुख शाहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्नेमा जोड दिएका छन् ।

यस्तै ‘नेपाल प्रहरीले महानगरसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्छ । महानगरपालिकाले युवा प्रमुख प्राप्त गरेपछि सुधारका काममा हामी पनि उत्साहित छौँ ।’ अतिरिक्त महानिरीक्षक ज्ञवालीले भनेका छन्, ‘महानगरका क्षेत्रगत काममा प्रहरी जोडिन सक्छ ।’सम्झौतामा उल्लेख गरिएको कामहरु गृह मन्त्रालयबाट जारी भएको सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई आधार कार्यान्वयन गरिनेछ ।

सीसीटिभी रिङ् नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारी सम्बन्धी योजना तयार पारिनेछ । सम्झौताबमोजिम राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन् ।

क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक वत्तीको व्यवस्था गरिनेछ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.