९ वैशाख , एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्माघाती बम हमलाको धम्की आएको छ । भारतीय जनता पार्टीको प्रदेश कार्यालयमा प्रधानमन्त्री मोदीको आसन्न भ्रमणका विषयमा धम्कीपूर्ण पत्र प्राप्त भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । धम्कीपछि भारतको केरलामा सुरक्षा सतर्कता बढाइएको छ ।
पत्रमा प्रेषकको नाम र अन्य विवरण पनि उल्लेख रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । दुई दिनपछि यही अप्रिल २४ मा मोदी कोची भ्रमणमा जाने कार्यक्रम तय छ । सोही भ्रमणका क्रममा आत्मघाती बम हमला गरिने धम्की आएको हो ।
पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिएका छन् पत्रपछि सुरक्षा सतर्कता बढाइएको छ र केन्द्रीय अनुसन्धान एजेन्सीहरुले थप अनुसन्धान गरिरहेका छन् ।
मोदीको भ्रमणका क्रममा तयार पारिएको सुरक्षा योजनासमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सुरक्षा योजनासहितको पत्र सार्वजनिक हुँदा सुरक्षामा असर गरेको हो । सोही ठाउँका नेतासमेत रहेका विदेशमन्त्री एम मुरलीधरले पत्र लिक भएकामा चिन्ता व्यक्त गरे ।
यसलाई प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको उनको टिप्पणी छ । तर भाजपाका राज्य प्रमुख के सुरेन्द्रले निर्धारित सबै कार्यक्रम हुने बताएका छन् । उनले प्रधानमन्त्री मोदीको कार्यक्रम विवरण दिँदै मोदीसहित भाजपाका शीर्ष नेता ¥यालीमा सहभागी हुने र जनसभालाई सम्बोधन गर्ने बताएका थिए ।
‘प्रधानमन्त्रीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ । यो भ्रमणबाट केरलाका जनताको ठूलो अपेक्षा छ । प्रधानमन्त्री मोदीको स्वागतका लागि ठूलो संख्यामा जनता सडकमा आउनेछन् । केरलाको राजनीतिक परिवर्तनको सुरुवात हुनेछ । पार्टी राजनीतिभन्दामाथि केरलाको विकास चाहने युवाहरु यसमा सहभागी हुनेछन’, उनले मोदीको भ्रमणबारे पत्रकार सम्मेलनमा भनेका छन् ।