९ वैशाख, काठमाण्डौ ।
एसिसी प्रिमियर कपमा साउदी अरेवियाले पहिलो जित निकालेको छ । ओपनर अब्दुल वहिदको सानदार शतकमा कतारलाई ७ विकेटले पराजित गर्दै आउदीले जित निकालेको हो । पहिलो जितका साथ साउदीले सेमिफाइनल पुग्न सक्ने समिकरण कायमै राखेको छ ।
जितको लागी २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । साउदी अरेवियालाई जित दिलाउन अब्दुल वाहिदले १ सय ८ बलमा १ सय २४ रन जोडे । उनले २१ चौका र १ छक्का हिर्काए । वकार उल हसनले ५५ रन बनाए ।
कतारका लागि इकरामुल्लाह खानले २ तथा खुराम शहजादले १ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय १६ रन जोड्यो । कतारका लागि मुहम्मद तनविरले ४६ रन तथा कमरान खानले ३६ रन बनाए ।
साउदी अरेवियाका लागि इश्तियाक अहमदले सर्वाधिक ४ तथा अतिफ–उर–रहमान, जैन उल अविदिन र अहमद बलादराफले २–२ विकेट हात पारे । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।
साउदीले तेस्रो खेल सोमबार घरेलु टोली नेपालसँग मुलपानी मैदानमा खेल्नेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो । कतारले तेस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।
यस्तै समूह ‘बी’ अन्तर्गत आजै भएको अर्को खेलमा कुवेतले बहराइनमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ ।
बहराइनले दिएको दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । कुवेतका यसिन पटेलले ६३ र मीत भाबसरले ५४ रन बनाए । बहराइनका अब्दुल मजिदले ३ विकेट लिए । त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो ।
बहराइनका इमरान अनवरले ५३ रन बनाए । कुवेतका सायद मोनिबले ४ विकेट लिए । आज कुवेतले पहिलो जित र बहराइनको पहिलो हार हो । यो प्रतियोगितामा १० देश सहभागी छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।