१० वैशाख , काठमाण्डौ ।
प्रतिनिधिसभातर्फ रिक्त तीन निर्वाचन क्षेत्र चितवन–२, बारा–२ र तनहुँ–१ मा आज उपनिर्वाचन भइरहेको छ । बिहान ७ बजेबाट तीनवटै निर्वाचन क्षेत्रमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायत उम्मेदवार छन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् ।
४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन् । चितवनमा रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफैंले मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपनेको निर्वाचन क्षेत्र नम्बर ३ मा रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् ।
यहाँ एमालेका उम्मेदवार जितनारायण श्रेष्ठले शक्तिखोरस्थित चतुर्मुखी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुँदैछ । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल लगायत उम्मेदवार छन् ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । मतदान गराउन ७ सय ६० कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन ।
यहाँका एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली काठमाडौंमा रहेकाले उनीहरूले यहाँको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् । त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन भएको हो ।
यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन् । बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीका अनुसार बारा– २ का सबै मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरू भएको छ । बारा २ को महागढीमाई नगरपालिकाको इनर्वा बुथमा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले लफडा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले विरोध गरेका छन् ।
जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई मात्र भित्र छिर्न दिएर अरुलाई रोकेको भन्दै जनमतका कार्यकर्ताले विरोध गरेपछि दुई पक्षबीच हात हालाहालसमेत भएको छ । यहाँ केहीबेर मतदान अवरोधसमेत भएको थियो । बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न नपाउने भएका छन् ।
मतदाता नामावली अन्य स्थानमा रहेकाले उनीहरूले मतदान गर्न नपाएका हुन् । यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यो क्षेत्रमा जनमतबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गरेका छन् ।
निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर गणनास्थलमा ल्याइने छ । गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको आयोगले जनाएको छ ।