१० वैशाख , काठमाण्डौ ।
मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान मोगाबाट उनी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो ।
अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिएको छ । अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ’खालिस्तान’ बनाउने ’वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए । उनी ३६ दिनदेखि फरार थिए ।
अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो । यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो ।
गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जाने अनुमति नदिन आग्रह गरेको थियो । उनी पञ्जावबाट नेपाल आएको दाबी दूतावासको थियो ।
भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको थियो ।
अब सिंहलाई असमको डिब्रुगढ जेलमा राखिनेछ । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई उनको संगठनका अन्य सदस्यहरू पहिले नै राखिएको जेलमा स्थानान्तरण गरिएको हो । अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको हो ।
पञ्जाब प्रहरी र राष्ट्रिय गुप्तचर निकायको संयुक्त प्रयासमा पक्राउ गरिएको हो । असमको डिब्रुगढ जेलमा अझै ८ जना बन्दी छन् । यी मानिसहरूमाथि एनएसए लगाइएको छ। अमृतपाल सिंह विरुद्ध एनएसएसहित १६ मुद्दा दर्ता छन्।