१० वैशाख , एजेन्सी ।
दोस्रो विश्वयुद्धमा डुबेको एक जापानी पानीजहाज ८० वर्षपछि फेला परेको छ । जुन जहाजमा झण्डै एक हजार अस्ट्रेलियालीसहित सैनिक तथा गैरसैनिकहरु समेत डुबेका थिए । यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो । जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराइरहेको थियो ।
तर, एउटा अमेरिकी पण्डुब्बी जहाजले टर्पेडो प्रहार गरी जहाज डुबाइदियो । मोन्टेभिडिओ मारु नामक सो जहाज जुलाई १९४२ मा फिलिपिन्सनजिकै डुबेको थियो । मारिनेहरुमा ९ सय ७९ अस्ट्रेलियाली, ३३ नर्वेली नाविक र २० जापानी गार्ड तथा चालक दलका सदस्य थिए ।
यसको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाको साइलेन्ट वर्ल्ड फाउन्डेसनले गरेको थियो। जसलाई एक डच कम्पनीले सघाएको थियो । जहाजका भग्नावशेष समुद्रमा स्वचालित रुपमा खोजी कार्य गर्ने वाहनले फेला पारेको थियो । जहाज ४ हजार मिटरको गहिराइमा फेला परेको थियो ।
जुन टाइटानिकको भग्नावशेषभन्दा गहिरो स्थानमा फेला परेको हो । यो भग्नावशेषलाई नचलाइने र मृतकका फेला परेका अवशेष र सरसामान पनि ननिकालिने साइलेन्टवर्ल्डले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले यो खोजबाट मृतकका प्रियजनहरुमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी टर्पेडोले लागेपछि जहाज तीव्र गतिमा डुबेको थियो । यो ११ मिनेटभित्रै समुद्रभित्र डुबिसकेको थियो । त्यतिबेलासम्म जम्मा तीन वटा लाइफबोटमा १०२ जना जापानीहरुको मात्र उद्दार हुन सक्यो। जो फिलिपिन्स पुगेका थिए । सो घटनामा १०८९ जनाको ज्यान गएको थियो ।