१० वैशाख, विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ ।
आइतबार गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका हुन् । करीव एक करोड रुपैयाँको लागतमा निर्मित ती घरहरु भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको विशेष आतिथ्यतामा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।
घर निर्माणमा सहयोग पु¥याउने समाजसेवी दिनबन्धु गोयलले झापा उद्योग बाणिज्य संघमा अध्यक्ष समेत रहेका आफ्ना स्वर्गीय दाजु ओम प्रकाश गोयलको सम्झनामा निर्माण गरेको बताए ।
गोयलले आफु पनि भद्रपुरको ६ नम्बर वडाकै बासिन्दा भएकोले वडा र नगरपालिकासँगको सहकार्यमा गरीव तथा विपन्न परिवारलाई घर बनाइदिएको जानकारी दिए । उनले दाताले नै सवै गरिदिन्छन् भन्ने सोच हटाएर आगामी दिनमा नमूना बस्ती निर्माणमा जुट्नका लागि घर परिवारहरुलाई आग्रह गरेका थिए ।
गोयल परिवारले स्थानीय साम माझी, राजु माझी, रमेश माझी, फुलकुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रविनकुमार माझी, शर्मिला राजवंशी, लखन माझी, सुमित्रा माझी, निर्मला राजवंशी र प्रमिलहिरन राजवंशीका लागि घर निर्माण गरिदिएका हुन् ।
घर हस्तान्तरण कार्यक्रमकै अवसरमा १४ घर परिवारका ज्येष्ठ सदस्यहरु बजारु माझी, राजो माझी, विनता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई लत्ता कपडा र जनही नगद एक हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको थियो ।
घर हस्तान्तरण गरिएका १४ परिवारमा सवै उमेर समुहका गरी ६५ जनाको बसोबास रहेको जनाइएको छ ।