सार्वजनिक स्थानमा विज्ञापन टाँसे जरिवाना/ पम्पलेट टाँसे एक लाख जरिवाना

सार्वजनिक स्थानमा विज्ञापन टाँसे जरिवाना/ पम्पलेट टाँसे एक लाख जरिवाना

१५ वैशाख, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा विज्ञापनका कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको छ। सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने भन्दै काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा विज्ञापन गर्न नपाइने निर्णय गरेको हो।

गत चैत ३० गते प्रकाशन भएको काठमाडौँ महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ मा यस सम्बन्धी व्यवस्था गरिएको छ। ६ परिच्छेद र २४ दफा रहेको निर्देशिकामा वाह्य विज्ञापन सम्बन्धी व्यवस्था, बिज्ञापन गर्न निषेध, विज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठन लगायत व्यवस्था छन्।

नियमन समितिको काम कर्तव्य र अधिकार, विज्ञापन कर सम्बन्धी व्यवस्था, स्थानान्तरण सम्बन्धी व्यवस्था, विज्ञापन कल्याण कोष सञ्चालन, वाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, विज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवर्धन, प्रोत्साहन लगायत प्रबन्ध छन्।

प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने विज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ। महानगर क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ, पोष्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति दिइनेछैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.