१६ वैशाख , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशनरत नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको भूगोलपार्कमा आमरण अनशनमा बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए ।
यता अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।
पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए ।उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं । । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् ,’ उनले भने । नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको उनको भनाइ छ ।