१६ वैशाख , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका लामिछानेले आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको बताए ।
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा छन् । उनले राति माइतीघर मण्डलमै बिताएका थिए । पुनको दुई दिने धर्नालाई समर्थन गर्दै लामिछानेले राज्यले गर्नुपर्ने काम पुन एक्लैले गरिरहेको बताए ।
अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बनाएका पुन सडकमा सुत्नपर्ने व्यक्ति नभएको भन्दै उनले यथाशीघ्र पुनसँग सरकारले वार्ता गर्नुपर्ने भनाइ राखे । सडक र सदनबाट आफ्ना सबै सांसदहरू पुनको पक्षमा रहेको लामिछानेले दोहो¥याएका थिए । यस्तै पुनको धर्नामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ऐक्यबद्धता जनाएको छ ।
राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका छन् । सो क्रममा उनले नेताहरुलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ? भन्दै प्रश्न गरे । उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रित भएको बताए ।
उनले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको आरोप लगाए । पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउन सक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताए । यस्तै राप्रपाकै अर्का नेता वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि माइतीघर मण्डलामा पुगेका थिए ।
महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् । उनले विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता जनाए ।
उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए । उनले आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारे । उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताए ।