१७ वैशाख, एजेन्सी ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले परमाणु हमलाको संकेत गर्दै चेतावनी दिएकी छिन् । यो जोङले आउने दिनहरु खतरापूर्ण हुनसक्ने भन्दै चेतावनी दिएकी हुन् । अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौताप्रति इंगित गर्दै उनले त्यसबाट ’धेरै गम्भीर खतरा’ उत्पन्न हुन सक्ने बताएकी हुन् ।
उनले उत्तर कोरियाले आउने दिनमा आफ्नो परमाणु शक्तिलाई थप बलियो बनाउँदै लग्नेसमेत बताएकी छिन् । अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौता उत्तर कोरियाको परमाणु क्षमतामाथि नै लक्षित छ । जसमा अमेरिकाले उत्तर कोरियालाई चुनौती दिन दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्ने र सोलको परमाणु कार्यक्रममा सहयोग गर्ने उल्लेख छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल्सबिच भएको ’वासिङ्टन सम्झौता’ प्रति उत्तर कोरिया क्रुद्ध बनेको हो । सो सम्झौता अन्तर्गत अमेरिकाले दक्षिण कोरियामा परमाणु हतियारसहितको पनडुब्बी र परमाणु बम लग्ने युद्धक विमान तैनाथ गर्नेछ ।
उत्तर कोरियाले विकास गरिरहेको परमाणु हतियारप्रति चिन्ता व्यक्त गर्दै दुई देशले यस्तो सहमति गरेको हो । यो सम्झौता अन्तर्गत दक्षिण कोरियाले आफै परमाणु हतियार बनाउन पाउने छैनन् । ’दुश्मन जति परमाणु युद्धप्रति अग्रसर हुनेछन् र कोरियाली प्रयाद्वीपमा जति परमाणु अतियार तैनाग गर्नेछन्।
हामी त्यति नै शक्तिले हाम्रो जवाफ दिन हाम्रो अधिकारको प्रयोग गर्नेछौं,’ किम यो जोङले चेतावनी दिँदै भनेकी छिन्। अमेरिका र दक्षिण कोरियाबिच भएको सो सम्झौताले पूर्वी एसियामा मात्रै नभइ विश्वकै शान्ति र सुरक्षामा खतरा पुग्ने उनले बताएकी छिन् ।