१७ वैशाख, काठमाण्डौ ।
देशका धेरै स्थानमा आज बिहानैदेखि मौसम बदली भएको छ । धेरै स्थानमा वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा उपत्यकामा पनि केही बेरपछि वर्षा हुने सम्भावना छ । तर, निरन्तर वर्षा नहुने उनले बताए ।
“देशका धेरै स्थानमा आज वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि केही बेरपछि वर्षा हुने देखिन्छ,” उनले बाह्रखरीसित भने, “तर, निरन्तर परिरहने हुँदैन । केही बेर पर्ने, रोकिने, फेरि पर्ने हुन्छ । मौसम बदली भने दिनभर नै हुने देखिन्छ ।” पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभावसँगै अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको उनले बताएका छन् ।
उनका अनुसार आज देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिजो पनि देशका केही स्थानमा वर्षा भएको थियो । अबका तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको उनले बताए । भोलि र पर्सिको तुलनामा आज बढी बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
“बदली तीनसम्म हुने देखिन्छ । आजभन्दा भोलि र पर्सि अलि कम असर हुने देखिन्छ,” उनले भने, “बदली हुँदैमा सबै ठाउँमा वर्षा भइहाल्ने हुँदैन । केही–केही ठाउँमा भने भोलि र पर्सि पनि बेला–बेलामा पानी पर्ने देखिन्छ ।” उनका अनुसार भोलि र पर्सि बिहानपख कम र अपराह्नतिर बढी बदली हुने सम्भावना छ । काठमाडौंमा पनि भोलि र पर्सि वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ । आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक÷दुई मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षा भएको छ ।सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई–मधेशका एक–दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ ।