१७ वैशाख , एजेन्सी ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली नाम झल्कने नाम राख्नुपर्ने बताएका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरभित्र रहेका विद्यालयको नाम र चिन्हमा समेत एकरुपता ल्याउनुपर्ने उनले बताएका हुन् ।
काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो)मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ । कतिपय विद्यालयले नियम पालना नगरेकाले बालेनले आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका हुन् ।
शाहले फेसबुकमार्फत प्रष्ट पार्दै विद्यालयको नाम षट्कोणमा राख्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ । यस्तै विद्यालयको नाम राख्दा पनि समाज, राष्ट्रमा उल्लेख्य योगदान गरेका व्यक्ति, देशको संस्कृति झल्कने नाम राख्नुपर्ने नियमावलीमा उल्लेख छ ।
तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।
त्यस्तै कुनै विद्यालयले पब्लिक शब्द राख्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, यस्तै नेशनल शब्द राख्न चाहेमा देशका २५ वटा जिल्लाका विद्यार्थी अधययनरत हुनुपर्ने र इन्टरनेशनल शब्द राख्न चाहेमा विदेशी विद्यार्थी अधययनरत हुनुपर्ने उल्लेख छ ।
विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ । यसअघि महानगरले विद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउन आग्रह गरेको थियो । लगत्तै अखिल क्रान्तिकारीले महानगरको शिक्षा शाखामा तालाबन्दी गरेपछि मेयर बालेन्द्र शाहले कार्यालयमा गरेको तालाबन्दी तोड्न लगाएका थिए ।