१७ वैशाख, काठमाण्डौ ।
सरकारले आन्दोलनरत महावीर पुनसँग छलफल गरेको छ । आइतबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पुनको छलफल भएको हो । छलफलमा मुख्य सचिव शंकरदास वैरागी पनि सहभागि थिए । सरकारको टोली र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको हो ।
सरकार र पुनबीच वार्ताबाट माग टुंग्याउने सहमति भएको छ । सरकारले माग सम्बोधन गरिदिनेमा पुन सकरात्मक र आशावादी छन् । सरकार र पुन दुवैपक्षबाट वार्ता समिति गठन गरेर सकेसम्म आजै साँझ र नभए भोलिसम्म समस्या समाधान गर्ने सहमति भएको हो ।
मन्त्रीसँगको भेटपछि राष्ट्रिय अविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनले सञ्चारकर्मीसँग भने,‘छलफलमा बसेर अब कसरी अघि बढ्ने भनेर निर्णय गर्यौँ,आज बेलुका पाँच बजेभित्र वार्ता टोली गठन गरेर सकेसम्म आजै रातिसम्म र नभए भोलि वार्ता गरेर आन्दोलनको माग पूरा गर्ने सहमति भएको छ ।
रक्षामन्त्रीसँग वार्ता गर्दा गर्दै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पटक फोन गर्नुभयो । अहिलेसम्म सकरात्मक हुने देखिएको छ । भोलि कागजमा हुँदा कस्तो हुन्छ त्यतिबेला नै कुर्नुपर्ने हुन्छ।’ पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
उनको आन्दोलनलाई नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एसलगायतका नेताले समर्थन गरेका छन् । पुनले आन्दोलन थालेयताका रात पनि माइतीघर मण्डलाको सडकमै बिताएका छन् । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने पनि उनले बताएका थिए । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरिरहेका छन् ।