२० वैशाख, काठमाण्डौ ।
दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा पाँच जना बेपत्ता भएका छन् । यार्सागुम्बा सङ्कलकन गर्न गएका उनीहरु पहिरोमा परेका हुन् । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले हिमपहिरोमा परेका पाँच जनाको परिचय खुलेको तर अवस्था भने अझै अज्ञात रहेको बताए ।
डीएसपी पाण्डेकाअनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया छिमी सामो थापा, दार्चुलाको दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् । उनीहरूको खोजी कार्यका लागि बुधबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।
मंगलबार वर्षा र हिमपातका कारण बेपत्ताहरूको खोजी गर्न गएको टोली फर्किएको थियो । गए रातिदेखिको लगातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताएका छन् ।
मंगलवार दिउँसो हिम पहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डीएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मंगलवार साँझ घट्नास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो टोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो ।
हिम पहिरोबाट जोगिएका २० जना यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको उनले बताए । वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए ।
यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए । यार्सागुम्बा टिप्न गएका १२ जना टेन्टमा बसिरहेका बेला हिमपहिरोमा परेका हुन् । ७ जना भने भागेर हिमपहिरोबाट जोगिएका छन् । आज पनि उद्यार टोली त्यसतर्फ गएपनि भारी वर्षा र हिमपातका कारण दोस्रो दिन खोज÷उद्धार सुरु गर्न सकिएको छैन ।
हिजो साँझ छाङरु फर्किएका सुरक्षाकर्मीहरु आज घटनास्थलतर्फ जान सकेका छैनन् । छाङरु गाउँको पूर्व दुई–अढाई घण्टाको पैदल दूरीमा रहेको भोलुम डाँडामा ५ फीट भन्दा बढी हिउ जमेको छ । उक्त क्षेत्रमा ४ दिनदेखि निरन्तर हिमपात भइरहेको छ ।