२० वैशाख, काठमाण्डौ ।
तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्। यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् । प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ।
बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भए, उनकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।
उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।
हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ ।
इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे ५ करोड लिएका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट प्रहरीले इन्द्रजितलाई पक्राउ गरेको थियो। निरजलाई भने प्रहरीले फेला पारेको छैन। २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।
कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो।