२१ वैशाख, एजेन्सी ।
नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो गोलसँगै हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् ।
हालान्डले लिगको ३३ औं खेलमा कीर्तिमानी गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि सन् १९९३–९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा राखेका थिए । त्यो समयमा प्रिमियर लिगमा ४२ खेल हुन्थे ।
३८ खेलको लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान आफ्नो नाममा गरेका थिए । लिगमा अझै ५ खेल बाँकी छ । बाँकी ५ खेलमा हालान्डले यही लयलाई निरन्तरता दिन सके उनले लियोनल मेसीको कीर्तिमान पनि आफ्नो नाममा गर्न सक्नेछन् ।
युरोपको शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले सन् २०११–१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न हालान्डले तोड्न सक्नेछन् । बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । आर्सनल दोस्रो स्थानमा झरेको छ ।
सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे । खेलको ५०औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३– ० को अग्रता दिलाए ।
जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल बढी खेलेको आर्सनल ७८ अंकमा दोस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा लिभरपुलले फुलहामलाई १–० गोल अन्तरले हराएको छ ।