२१ वैशाख, एजेन्सी ।
मुलुक विभाजनपछि देखिको सीमा विवाद र यसकै कारण शत्रुतापूर्ण व्यवहारका कारण भारत र पाकिस्तानबीच राजनीतिक भ्रमण निकै कम हुने गरेको छ । पछिल्लो पटक सन् २०११ मा पाकिस्तानकी तत्कालीन विदेशमन्त्री हिना रब्बानी खारले भारत भ्रमण गरेकी थिइन् ।
त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्री भारत आएका थिएनन् । यस्तै, सन् २०१६ मा पाकिस्तानका विदेश मामिला सल्लाहकार सरताज अजिले भारत भ्रमण गरेका थिए । त्यसयता पाकिस्तानबाट कुनै पनि उच्च अधिकारी भारत आएका थिएनन् । अहिले १२ वर्षपछि पाकिस्तानका विदेशमन्त्री भारत पुगेका छन् ।
भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो आज गोवा पुगेका छन् । गोवामा हुने संघाइ सहयोग संगठनको बैठक (एससीओ)मा सहभागी हुन उनी यहाँ आएका हुन् । एससीओको विदेश मन्त्रीस्तरको बैठकका लागि जयशंकरले भुट्टोलाई आमन्त्रण गरेका थिए ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले केहीसमय अघि भारतसँग तीनपटक युद्ध लडेर पाकिस्तानले धरै पाठ सिकेको बताएका थिए । शहबाजको यो भनाइपछि भारतले भुट्टोलाई बोलाउने निर्णय गरेको थियो । तर, दुवै देशबिचको सम्बन्ध मित्रतापूर्ण हुन सकेको छैन । भुट्टोले भारत पुग्नु अघि दिएको अभिव्यक्तिले पनि यो कुरालाई प्रष्ट पारेको छ ।
भुट्टोले एससीओ चार्टरलाई बलियो बनाउने उद्देश्यले नै आफूले भारत भ्रमण गरेको बताएका छन् । उनले आफ्नो भारत भ्रमण संघाइ सहयोग संगठनको बैठकमा मात्रै केन्द्रीत हुने बताएका छन् । उनले भारतसँग द्वीपक्षीय सम्बन्धका बारेमा कुनै पनि कुरा उल्लेख गरेका छैनन् । भुट्टोले गोवामा मित्रवत् राष्ट्रहरुसँग रचनात्मक छलफल हुने बताएका छन् ।
यो अभिव्यक्तिले पनि भारतसँग कस्तो संवाद होला भन्ने थप प्रश्न जन्माएको छ । तर भारतमा भुट्टोले पाइला टेकेसँगै गोवामा भइरहेको सम्मेलनमा भारत र पाकिस्तान सरकार बिच वर्षौंको मौनता तोडिने निश्चित भएको छ । यस सम्मेलनका क्रममा भुट्टो र जयशंकर बिचको भेटलाई महत्वका साथ हेरिएको छ ।
जयशंकर र भुट्टोको भेटमा के के विषयमा छलफल हुने भन्ने जानकारी दिइएको छैन । यद्यपि, पाकिस्तानमा सेप्टेम्बरमा हुने तय भएको एसिया कप पनि दुई देशको बिग्रिएको सम्बन्धका कारण अन्यौलमा छ । भुट्टो र जयशंकर बिचको भेटमा यस विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ । तर, त्यसको सम्भावना न्यून रहेको बताइन्छ ।
रोचक के छ भने छिमेकी मुलुक भारत आउँदा भुट्टोले साढे ११ घन्टा लामो यात्रा तय गरेका छन् गोवा पुग्न । तनावकै कारण भारत र पाकिस्तानबिच सोझो हवाई यातायात सेवा छैन । आतंकवाद सम्बन्धि मुद्दा उठाएर भारतले पाकिस्तानलाई घेर्दै आइरहेको छ । त्यसैले पछिल्लो समय अपवादमा बाहेक भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्च साझा गरेका छैनन् । जसकारण सार्क सम्मेलनसमेत हुन सकेको छैन ।