२२ वैशाख, काठमाण्डौ ।
सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले बताएका छन् ।
नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ । वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।
यद्यपि उपनिर्वाचन जितेपछि पत्रकारहरुको एक प्रश्नमा लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका अन्य नेताहरुले लामिछानेलाई फकाउने प्रयास जारी राखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको एक औपचारिक कार्यक्रममा लामिछानेलाई सरकारमा आउन आह्वान गरेका थिए । त्यसपछि रविले प्रधानमन्त्री प्रचण्ड तथा काग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । रविसँगको छलफलमा प्रधानमन्त्रीले यसअघि रास्वपालाई दिने भनिएका गृहसहितका मन्त्रालय दिन आफू तयार भएको र रास्वपाको माग वमोजिम भ्रष्टचारका फाइलहरु खेल्न पनि तयार रहेको उनले बताएका थिए ।
प्रधानमन्त्रीबाट सरकारमा सहभागि हुन आव्हान गरिएको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले रविलाई प्रधानमन्त्रीसम्मको अफर गरेको खबर बाहिरिएको छ । तर दुवै दलका नेताहरुले यसको पुष्टि भने गरेका छैनन् ।
यस्तो अवस्थाका बीच अन्तिम निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ ।बैठक सरकारमा सहभागी हुने÷नहुने, प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने एजेण्डामा केन्द्रित हुने बताइएको छ ।