१० औं पटक विस्तार गर्दा पनि प्रचण्ड सरकार अपूरो

१० औं पटक विस्तार गर्दा पनि प्रचण्ड सरकार अपूरो

२४ वैशाख, काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दशौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेका हुन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु–२ बाट विजयी भएका थिए । यसअघि बिहीबार कांग्रेसबाटै धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाउँदै उनको नेतृत्वमा गत चैत १७ गते सरकारमा सहभागी भएको हो ।

यस्तै कांग्रेसले अर्थमन्त्रीमा प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाललाई पठाइसकेको छ । यससंगै कांग्रेस सभापति देउवाले अन्ततः पार्टीभित्रका प्रतिस्पर्धीलाई पेलेरै अघि बढेका छन् । काँगे्रसका ९ जना मन्त्री बनेका छन् ।

तर तीमध्ये ७ जना सभापति देउवाकै विश्वासपात्रहरु छन् । शेखर–गगन समूहबाट दुई जनामात्रै मन्त्री बनेका छन् । पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई सभापति देउवाले मन्त्री चयनमा २० प्रतिशतमा सीमित गरिदिएका छन् । दशौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत प्रचण्ड नेतृत्वको सरकार भने अझै पूर्ण हुन् सकेको छैन् ।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्रीकै काँधमा रहेको छ । सरकारमा रहेको जनता समाजवादीले एक मन्त्रालयलमा अझै मन्त्री पठाउन सकेको छैन् । उपनिर्वाचनबाट भर्खरै बारा २ बाट विजयी भएर आएर अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जाने तयारी रहेको बुझिएको छ । यद्यपि यस विषयमा अझै सो पार्टीले कुनै निर्णय गरिसकेको छैन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.