२६ बैशाख, काठमाण्डौ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।
मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा देवकोटाले यस्तो बताएका हुन् । उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । खेलाडीलाई उचित सम्मान र पुरस्कृत गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । खेलाडीले नेपालको इज्जत र सम्मानलाई सगरमाथाभन्दा पनि माथि लगेका छन् । त्यो उचाइमा नेपालको सम्मान पु¥याउने खोलाडीलाई सरकारले झारो टार्नुभन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्, राष्ट्रका लागि योगदान दिएको नाममा जो–जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन छ भन्ने गुनासो छ, त्यो हो भने हटाइयोस्, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणमा विशेष ध्यान दिइयोस् । भारत र पाकिस्तानलगायतका देशबीचको टकराबको फाइदा नेपालले लिन सक्ने गरी खेल पूर्वाधारमा लगानी बढाइयोस् ।भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिबद्धताका साथ सरकार अघि बढोस् ।’
सदस्य देवकोटाले खेल पूर्वाधारमा लगानी बढाई नेपाललाई अन्तर्राष्ट्रिय खेलको ’हब’ को रूपमा स्थापित गर्न पनि सरकारलाई आग्रह गरे ।