२९ वैशाख, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको हो । अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको बताएका छन् ।
उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नेदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।
प्रहरीले बुधबार खाँण पक्राउसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, ‘डेटा मिसिङ’ भएको भेटिएपछि प्रहरी रिकभर गर्ने निष्कर्षमा पुगेको हो । २० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराएका थिए ।
पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो । सोही डेटाका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता रहेको निष्कर्ष प्रहरीले निकालेको थियो । कारोबारका सन्दर्भमा खाँणले पठाएको एसएमएस पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाँणको मोबाइलमा नभेटिएपछि प्रहरी मोबाइल डेटा रिकभर गर्ने निष्कर्षमा पुगेको हो ।
डेटा रिकभर भएलगत्तै अुशन्धानले नयाँ मोड लिने आशामा प्रहरी छ । प्रहरीले खाँणले प्रयोग गर्ने ‘सिम’को कल डिटेल रिपोर्ट भने पक्राउअघि नै उतारिसकेको थियो । त्याहा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहका सदस्यसँग उनको पटक–पटक कुराकानी भएको भेटिएको थियो ।
विशेष गरी धन्दाका सम्बन्धमा उनको सबैभन्दा धेरै संवाद पूर्वगृहसचिव पाण्डेसँग भएको देखिन्छ । त्यसपछि पक्राउ परेका सन्देश शर्मा, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीसँग खाँणको धेरै संवाद भएको देखिन्छ ।
प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाँणले प्रहरीलाई बयान दिन इन्कार गरिरहेका छन । प्रहरी परिसर काठमाडौंले खाँणसँग बयान लिन बाँकी रहेको बताएको छ । पक्राउ परेका खाँणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने प्रहरीको विश्वास छ ।