सरकारले रोक्यो नयाँ स्टकको लाइसेन्स प्रक्रिया

सरकारले रोक्यो नयाँ स्टकको लाइसेन्स प्रक्रिया

२९ वैशाख, काठमाण्डौ ।
सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ ।

धितोपत्र बोर्डका अधिकारीले बिहीबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इमेलमार्फत प्रक्रिया रोक्ने जानकारी गराएको बताएका छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । सर्वोच्च अदालतले लाइसेन्स दिने बाटो खोलेपछि हमालले यसको प्रक्रिया अगाडि बढाएका थिए ।

उनले निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको टिप्पणी भइरहेको थियो । धितोपत्र बोर्डका कर्मचारीले नै अर्थमन्त्रीलाई लाइसेन्स दिने नीति ठीक भए पनि अध्यक्ष हमालले एउटा व्यापारिक समूहलाई लाइसेन्स दिन काम गरेको जानकारी गराएका थिए ।

फाष्ट ट्रयाकमा निश्चित घरानालाई पोस्ने गरी लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएपछि संसदमा चर्को विरोध सुरु भएको थियो । सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन अर्बौको चलखेल भएको आरोप लगाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पनि नयाँ स्टकको लाइसेन्समा अर्बौ चलखेल भएको बताएका थिए ।

संसदमा चर्को विरोध भएपछि प्रचण्डले आफ्ना निकटका आफन्तसँग पनि स्टकको लाइसेन्स दिँदाको जोखिमका बारेमा छलफल गरेका थिए । छलफलमा आफन्तले समेत स्टकको लाइसेन्स दिएर विवादमा परिने भन्दै प्रक्रिया रोक्नु उचित हुने सल्लाह दिएका थिए । त्यसपछि उनी रोक्ने मुडमा पुगेका थिए ।

त्यही बीचमा बोर्डले हतारहतार आवेदन दिएका कम्पनीको सिलबन्दी खोलेर मार्किङ गर्न थालेको थियो । उच्च अदालतको मुद्दामा दुबै पक्षलाई बोलाएकै बेला हतारहतार गोप्य सिलबन्दी खोलेपछि प्रचण्ड बोर्ड नेतृत्वसँग पनि रुष्ट भएका छन् । बोर्डले कानुन मन्त्रालयका सहसचिव एवं बोर्ड सदस्य फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति बनाएको थियो ।

त्यो समितिले बुधबार आवेदन दिएको तीन कम्पनीको बिजनेश प्लानको गोप्य सिलबन्दी खोलेर मार्किङ दिन थालेको थियो । नयाँ स्टकका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघले नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया ग्रुपका रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.