२९ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रवार काठमाडौं म्हानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।
पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न÷नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए ।
उनले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताएका छन् । उनले भनेका छन् , ‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ ।
यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरुलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ । पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई ५ हजारको दरले जरिबाना गरेका छौँ ।
हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरुलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ ।’ प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको भन्दै संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताएका छन् ।