३१ वैशाख,एजेन्सी ।
भारतको कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई अप्रत्यसित धक्का लागेको छ । गत साता भएको निर्वाचनको मत गणना अनुसार विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले विधानसभाका २२४ सिटमध्ये १३५ सिट जित्दै बहुमत हासिल गरेको छ । भाजपाले भने ६६ सिट जितेको छ ।
यता, जनता दल ‘सेक्युलर’ – जेडी(एस) ले १९ सिट जितेको छ। अन्य दलले ४ सिट जितेका छन् । कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले सफलता हात पारेको हो । उनले भारत जोडो यात्राका क्रममा २१ दिन कर्नाटकमा बिताएका थिए ।
भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख प्रचारकका रूपमा कर्नाटकको चुनावमा उतारेको थियो तर यसपटक उनको ‘जादु’ चल्न सकेन् । जसका कारण भाजपाले त्यहाँको सत्ता गुमाएको छ । भाजपाको हारपछि त्यहाँका मुख्यमन्त्री बसवराज बोम्मईले राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भने कर्नाटकमा विजय हासिल गरेकोमा कंग्रेसलाई बधाई दिएका छन् ।
कर्नाटकमा भाजपाले सरकार जोगाउन हरसम्भव कोसिस गरेको थियो । धर्मका आधारमा हिन्दु भोट बटुल्न चुनावको मुखमा भाजपाले मुस्लिम समुदायलाई दिँदै आएको आरक्षण कटौती गरेको थियो । तर यसको गलत परिणाम देखिएको छ । भाषणमा प्रधानमन्त्री मोदीले ‘जय बजरंगबली’ को नारा लगाएर मतदातालाई मतपत्रमा ‘हनुमानजीको तस्बिर’ सम्झेर भाजपालाई भोट दिन आग्रहसमेत गरेका थिए ।
चुनावी प्रचारप्रसार र रोड शोका लागि लगातार समय दिए पनि उनी सफल हुन सकेनन । यसअघि हिमाचल प्रदेशमा भएको चुनावबाट पनि भाजपाले सत्ता गुमाएको थियो । अहिलेको चुनावी परिणामलाई आगामी वर्ष हुने लोकसभा चुनावसँग जोडेर हेर्न थालिएको छ । भारतमा कंग्रेसको लोकप्रियता बढ्दै गएको र मोदीको लोकप्रियतामा ह्रास आएको टिप्पणी भइरहेको छ ।
चुनावको परिणामले कंग्रेस कार्यकर्ता उत्साहित देखिन्छन । सन् २०१४ यता खुम्चिँदै गएको कंग्रेस क्रमशः लयमा फर्किंदै गएको उनीहरूको भनाइ छ । छत्तीसगढ, राजस्थान, हिमाचलपछि कर्नाटकमा कंग्रेसको सरकार बन्दै छ । कंग्रेस कार्यकर्ताले चुनाव जित्नुको जस राहुल गान्धीलाई दिएका छन ।
चुनावी परिणामपछि राहुलले पनि कर्नाटकमा फैलाउन खोजिएको द्वैषको बजार सकिएको बताएका छन । ‘यो सबैको जित हो, द्वैषको पसल बन्द भएको छ, अब मायाको बजार खुलेको छ,’ उनले भनेका छन्, । दक्षिण भारतको प्रवेशद्वारका रूपमा परिचित कर्नाटकको चुनावी परिणाम कंग्रेसका लागि कुनै पनि ठूलो राज्यमा लामो समयपछि पहिलो पटक प्राप्त जित हो ।
यो जितसँगै कंग्रेसको मनोबल बढेको विश्लेषकहरूको भनाइ छ । अर्को वर्ष हुने लोकसभा निर्वाचनमा भाजपाको विपक्षमा रहेको दलहरुको नेतृत्व कांग्रेसले लिन सक्ने अनुमान छ । यद्यपि, अन्य दलका नेताहरु पनि नेतृत्वका लागि ‘लबिङ’मा छन्। मोदीको दुई कार्यकाल सकिन लाग्दा विपक्षीहरु अर्को वर्ष एकजुट भएर लाग्ने देखिएको छ ।
कांग्रेस नेता राहुल गान्धीलाई सन् २०२४ मा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अहिले प्रस्तुत गरिएको छ । कर्नाटकका स्थानीय कांग्रेस नेताहरु पनि अब राहुलले २०२४ को लागि अन्य दललाई मनाएर ’कमान्ड’ सम्हाल्नुपर्ने मत राखिरहेका छन् । दिल्ली, पश्चिम बंगालमा कांग्रेस सत्तामा नभए पनि अरविन्द केजरीवाल, ममता बेनर्जी विपक्षी खेमामा नै छन् ।
बिहारका मुख्यमन्त्री नितिश कुमार पनि पछिल्लो समय भाजपाको साथ छाडेर अघि बढेका छन् । उनी पनि अहिले कांग्रेससहितका विपक्षी दलहरुसँग छलफलमा छन् । सन् २०२४ मा पनि भाजपाको प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदी नै हुने प्रबल सम्भावना छ ।
भारतमा अहिले मोदीको ’क्रेज’ घटेको छैन । त्यसैले विपक्षीहरु मोदीको विरुद्धमा उठाउन अनुहारको खोजीमा छन् । कांग्रेसमा सो अनुहार भनेकै राहुल हुन् । यद्यपि चर्चामा ममता, नितिशको नाम भए पनि अन्य दल यस विषयमा खुलेका छैनन् ।